मदन भण्डारीको सम्झनामा रिटर्नी फेडेरेसनको वृक्षारोपण

प्रकाशित मिति: १७ असार २०८१, आईतवार

काठमाडौं । रिटर्नी फेडेरेसन नेपालले जननेता मदन भण्डारीको ७३औँ जन्मदिनको अवसर पारेर वृक्षारोपण गरेको छ । स्वर्गीय नेता भण्डारीको असार १४ गते परेको जन्मदिनको अवसरमा फेडेरेसनले बुढानिलकण्ठ-११ स्थित कपनगढी पार्कमा वृक्षारोपण गरेको हो ।

नेकपा एमाले पोलिट्ब्युरो सदस्य एवं प्रतिनिधिसभा सदस्य अच्युत प्रसाद मैनालीले धुपिको बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए । उक्त वृक्षारोपण कार्यक्रम अन्तर्गत कपनगढी पार्कमा २०० वटा ठुला र लामो आयु भएका प्रजातिका बिरुवाहरु रोपिएको थियो ।

एमालेका केन्द्रीय सदस्य एवं फेडेरेसनका ईन्चार्ज डा. सुर्य पाठकले विभिन्न प्रजातिका बिरुवाहरु रोप्दै जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलिय जनवादको आलोकमा हुर्किरहेको पार्टी र त्यसको जनसंगठनहरुले असार १४ का दिन रोपेका बिरुवाहरु मार्फत भण्डारीलाई दिर्घकालसम्म स्मरणमा राख्न र उनको सादगी एवं सैद्धान्तिक पदचापलाई पच्छ्याउन सघाउ पुग्ने विश्वास व्यक्त गरे।

बुढानिलकण्ठ नगरपालिका-११ को सहकार्यमा आयोजना गरिएको उक्त वृक्षारोपण कार्यक्रममा नगरपालिकाका प्रवक्ता नवराज भट्टराई, वडा नम्वर ११ का वडा अध्यक्ष राजु अधिकारीसहित स्थानिय समाजसेवीहरुको सहभागिता रहेको थियो । रोपिएका सबै बिरुवालाई आवश्यक प्राङ्गारिक मलको व्यवस्थापन फाहोरमैला व्यवस्थापन क्षेत्रको अग्रणी संस्था परिवर्तन सेवा प्रा.ली.का अध्यक्ष मित्र प्रसाद घिमिरेले गरेका थिए ।

बदलिदो परिस्थितिमा ग्लोबल वार्मिङका कारण विश्वब्यापी रुपमा पृथ्वीको तापक्रम बढिरहेका बेला वातावरणीय सुधारका लागि नेकपा एमाले सम्बद्ध रिटर्नी फेडेरेसनले देशभर वृक्षारोपणलाई पहिलो प्राथमिकतामा राखेको अध्यक्ष उत्तम अधिकारीले बताए । करिब २०० बिरुवाहरु रोपिएको उक्त पार्कमा वडासँगको सहकार्यमा आवश्यकताअनुसार पार्कको सरसफाई र रोपिएका बिरुवाको संरक्षणमा संगठन जोडिइरहने अध्यक्ष अधिकारी बताउँछन् ।

फेडेरसनका केन्द्र, बागमती प्रदेश र काठमाडौं तथा भक्तपुर जिल्लाका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिमा सम्पन्न गरिएको उक्त कार्यक्रममा ५० जनाभन्दा बढी रिटर्नीहरु सहभागी भएका थिए । त्यसैगरी फेडेरेसनको धनकुटालगायत विभिन्न जिल्ला कमिटीहरुले पनि १४ गते कै दिन मदन भण्डारीको स्मृतिमा वृक्षरोपण गरेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट