सुनचाँदी क्षेत्रको बृहत पदयात्रा

प्रकाशित मिति: ११ असार २०८१, सोमबार

काठमाडौं । सुनचाँदी व्यवसायी तथा कालिगढ बचाउँ अभियानले बृहत पदयात्रा गर्ने भएको छ ।

न्युरोड विशालबजारस्थित श्री रिद्धि सिद्धि ज्वेलर्सले सुनचाँदी व्यवसायी तथा श्रमजिवी कालिगढको पेटमा लात हान्ने काम गरेको भन्दै सुनचाँदी व्यवसायी तथा कालिगढ बचाउँ अभियानमा आबद्ध १० वटा संस्थाहरुले रिद्धि सिद्धिका संचालक नरेन्द्र गुप्ताको सम्पत्ती छानबिनको माग राख्दै बृहत पदयात्रा गर्ने निर्णय गरेको हो ।

‘सुनचाँदी व्यवसायी तथा कालिगढ एकता कायम राखौं’ भन्ने मूल नाराका साथ असार १२ गते बुधबार बिहान ११ बजे आर. एन.ए.सी. भवन नजिकबाट पदयात्रा सुरु हुने बताइएको छ । पछिल्लो समय रिद्धि सिद्धि ज्वेलर्सले ज्याला र जर्तीमा विशेष छुटसहित ७ प्रतिशतमा सुनका गहना बेच्न थालेपछि बचाउँ अभियानमा आबद्ध १० वटा संस्थाहरुले रिद्धि सिद्धिले विदेशबाट अवैध रुपमा सुन ल्याएर कम जर्ती र छुट अफरमा बेचेको हुन सक्ने आशंका गर्दै छानबिन गर्न माग गर्दै आइरहेको छ ।

अवैध सुन छानबिन हुने डरले रिद्धि सिद्धिले स्टक सिध्याएर यो व्यवसायबाट पलायन हुने मनसायले आत्मघाती कदम चालेको हुन सक्ने बचाउ अभियानको निष्कर्ष छ । अभियानमा रत्न व्यवसायी संघ नेपाल, नेपाल सुनचाँदी कला व्यवसायी संघ, राष्ट्रिय सुनचाँदी कालिगढ संघ, ललितपुर सुनचाँदी व्यवसायी संघ, नेपाल सुनचाँदी व्यवसायी संघ काभ्रे, नेपाल सुनचाँदी शिल्प व्यवसायी संघ, नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मंच, काठमाडौं सुनचाँदी व्यवसायी संघ, नेपाल रत्न तथा आभुषण संघ र भक्तपुर सुनचाँदी व्यवसायी संघ आबद्ध रहेका छन् ।

उक्त संस्थाहरुले आज वाणिज्य विभाग, राजस्व अनुसन्धान विभाग, सीआईबी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा रिद्धि सिद्धिको कारोबार छानबिन गर्न माग गर्दै निवेदन समेत पेश गरेका छन् ।

छानबिन गर्न सुनचाँदी व्यवसाय तथा कालिगढ बचाउ अभियानको माग


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट