रिद्धि सिद्धि ज्वेलर्सले अवैध सुन कारोबार गरेको दाबी

छानबिन गर्न सुनचाँदी व्यवसाय तथा कालिगढ बचाउ अभियानको माग

प्रकाशित मिति: ७ असार २०८१, बिहीबार

काठमाडौं । सुनचाँदी व्यवसाय तथा कालिगढ बचाउन अभियान-२०८१ मा आबद्ध ९ वटा संघहरुले न्युरोड बिशाल बजारस्थित श्री रिद्धि सिद्धि ज्वेलर्सको कारोबार छानबिन गर्न माग गरेका छन्। सुनको मूल्य अधिक बढेकाले पछिल्लो समय रिद्धि सिद्धि ज्वेलर्सले ज्याला र जर्तीमा विशेष छुटसहित ७ प्रतिशतमा सुनका गहना बेच्ने भन्दै विज्ञापनहरु दिँदै आएकोमा सुनचाँदी व्यवसाय तथा कालिगढ बचाउन अभियानले घोर भर्त्सना गर्दै विज्ञप्ति निकालेको छ ।

अभियानमा आबद्ध रत्न व्यवसायी संघ नेपाल, नेपाल सुनचाँदी कला व्यवसायी संघ, राष्ट्रिय सुनचाँदी कालिगढ संघ, ललितपुर सुनचाँदी व्यवसायी संघ, नेपाल सुनचाँदी व्यवसायी संघ काभ्रे, नेपाल सुनचाँदी शिल्प व्यवसायी संघ, नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मंच, काठमाडौं सुनचाँदी व्यवसायी संघ र नेपाल रत्न तथा आभुषण संघ गरी ९ वटा संस्थाहरुले बिहीबार संयुक्त विज्ञप्ति निकाल्दै रिद्धि सिद्धिले विदेशबाट अवैध रुपमा गर–गहना ल्याएर कम जर्ति र छुट अफरमा बेचेको हुन सक्ने आशंका गर्दै छानबिन गर्न सरोकार निकायलाई माग गरेका हुन् ।

अवैध सुन छानबिन हुने डरले रिद्धि सिद्धिले स्टक सिध्याएर यो व्यवसायबाट पलायन हुने मनसायले आत्मघाती कदम चालेको हुन सक्ने बचाउ अभियानको निष्कर्ष छ । बचाउ अभियानले कारोबार छानबिनको लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, वाणिज्य विभाग राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पत्रचार गरेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘वैध मार्ग तथा बैंकबाट खरिद गरिएको सुनबाट कुनै हालतमा पनि ७ प्रतिशत ज्याला जर्तिमा निर्माण गर्न नसकिने कुरा अवगत गराउन चाहन्छौं । हामी प्रश्न गर्न चाहन्छौं – उक्त कम्पनीले सुन खरिद कहाँबाट गर्छ ? यसको छानबिन आवश्यक छ । उक्त कम्पनीको वैधानिक खरिद र कुल वार्षिक कारोबारको अंकबिचको अपत्यारिलो भिन्नताले अवैध स्रोतबाट प्राप्त सुनकै कारण श्री रिद्धि सिद्धि ज्वेलर्स वर्षौंदेखि चल्दै आएको तथा उपभोक्ता, व्यवसायी र नियामक निकाय समेतले स्वीकार गरेको अभ्यास विपरीत कम जर्ती लिएर बिक्री गर्न सक्ने अवस्थामा पुगेको हाम्रो निष्कर्ष छ । तसर्थ उक्त कम्पनीको कारोबारको छानबिन गर्न हामीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, वाणिज्य विभाग राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलगायत अन्य सम्बन्धित निकायलाई पत्राचार गरिसकेको जानकारी गराउँदछौं,।’

विगत २५ वर्षदेखि उक्त कम्पनीले ज्याला जर्तिसहित १२ देखि २२ प्रतिशतमा गरगहना बिक्री गर्दै आएकोमा अहिले आएर एकलौटी रुपमा जर्ति हटाएर उपभोक्ताको आखाँमा छारो हाल्न विशेष छुटसहित ७ प्रतिशतमा गहना बिक्री गर्न दिएको विज्ञापन भ्रामक भएकाले उक्त विज्ञापनको पछि नलाग्न समेत सुनचाँदी व्यवसाय तथा कालिगढ बचाउन अभियानले ग्राहकहरुलाई अनुरोध गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट